Google One का सेवाका अतिरिक्त सर्तहरू

पछिल्लो पटक परिमार्जन गरिएको मिति: २०२५ नोभेम्बर ११ |

Google One प्रयोग गर्न तपाईंले अनिवार्य रूपमा निम्न कुराहरू स्वीकार गर्नु पर्ने हुन्छ: (१) Google का सेवाका सर्तहरू र (२) Google One का सेवाका यी अतिरिक्त सर्तहरू (“अतिरिक्त सर्तहरू”)। यी अतिरिक्त सर्तहरूमा परिभाषित नगरिएका शब्दहरूको अर्थ Google का सेवाका सर्तहरूमा दिइएको अर्थबमोजिम हुने छ।

कृपया यी कागजातहरू ध्यानपूर्वक पढ्नुहोस्। समग्रमा यी कागजातहरूलाई “सर्तहरू” भनिन्छ। यी सर्तहरूले तपाईं हाम्रा सेवाहरू प्रयोग गर्दै जाँदा हामीबाट के अपेक्षा गर्न सक्नुहुन्छ र हामी तपाईंबाट के अपेक्षा गर्छौँ भन्ने कुरा स्पष्ट पार्छन्।

तपाईं आफ्नो जानकारी कसरी अपडेट, व्यवस्थापन तथा एक्स्पोर्ट गर्न र मेटाउन सक्नुहुन्छ भन्ने कुरा अझ राम्रोसँग बुझ्न हामी तपाईंलाई हाम्रो गोपनीयता नीति पढ्न सिफारिस गर्छौँ।

१. हाम्रो सेवा

Google One ले Gmail, Google Photos र Google Drive मा साझा रूपमा प्रयोग गर्न सकिने सशुल्क भण्डारणसहितका सदस्यता योजनाहरू उपलब्ध गराउँछ। यिनमा तपाईंलाई Google वा तेस्रा पक्षहरूमार्फत प्रदान गरिने अतिरिक्त सुविधाहरू भएका सदस्यता योजनाहरू पनि समावेश छन्। Google One ले Google ले बनाएका निश्चित AI सुविधाहरूको सशुल्क एक्सेस प्रदान गर्ने सदस्यता योजना र AI क्रेडिटहरू पनि उपलब्ध गराउँछ। Google वा तेस्रो पक्षले उपलब्ध गराउने अतिरिक्त सुविधाहरूको प्रयोगमा त्यस्ता सुविधाका सेवाका सर्तहरू लागू हुन्छन्। केही सुविधा सबै देशमा उपलब्ध नहुन सक्छन् र तिनमा अन्य प्रतिबन्धहरू पनि लागू हुन सक्छन्। यस सम्बन्धमा थप जानकारी प्राप्त गर्न कृपया Google One को मद्दत केन्द्रमा जानुहोस्।

Google का सेवाका सर्तहरूमा उल्लिखित Google अन्तर्गतको संस्थाले Google One सेवा प्रदान गर्छ। तपाईंले Google One को सदस्यता वा AI क्रेडिटहरू खरिद गर्दा तपाईं विक्रेतासँग छुट्टै सम्झौता गर्नुहुन्छ। उक्त विक्रेता Google अन्तर्गतको कुनै संस्था (खण्ड २ हेर्नुहोस्) वा कुनै तेस्रो पक्ष हुन सक्छ। तपाईंले कुनै तेस्रो पक्ष वा एफिलियटमार्फत Google One को सदस्यता लिनुभएको छ भने तपाईंको सदस्यतामा उक्त तेस्रो पक्ष वा एफिलियटले तोकेका अतिरिक्त सर्तहरू लागू हुन सक्छन्।

AI क्रेडिटहरू

तपाईं तोकिएका AI सुविधाहरू अन गर्न तथा ती सुविधाहरूमा आफ्नो अनुरोधको प्रक्रिया अगाडि बढाउन AI क्रेडिटहरू प्रयोग गर्न सक्नुहुन्छ। कुनै खास कार्य गर्न (जस्तै भिडियो जेनेरेट गर्न) कति क्रेडिट चाहिन्छ भन्ने कुरा सम्बन्धित उत्पादन वा सुविधाभित्रै जानकारी गराइने छ। Google सँग AI सुविधाहरू प्रयोग गर्न लाग्ने क्रेडिटको मात्रा परिमार्जन गर्ने अधिकार हुन्छ। AI क्रेडिटहरू Google ले समय समयमा उपलब्ध गराउन सक्ने निश्चित AI सुविधाहरू एक्सेस गर्न मात्र प्रयोग गर्न सकिन्छ।

तपाईंले AI क्रेडिटहरू खरिद गर्दा उल्लेख गरिएअनुसार निश्चित अवधिपश्चात् AI क्रेडिटहरूको म्याद सकिन सक्छ।

यी सर्तहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको अवस्थामा बाहेक AI क्रेडिटहरूमा तपाईंको कुनै अधिकार वा हक लागू हुँदैन। तपाईंसँग अर्का प्रयोगकर्तालाई वा अर्को खातामा AI क्रेडिटहरू बिक्री वा स्थानान्तरण गर्ने अनुमति छैन। तपाईंले AI क्रेडिटहरू बिक्री वा स्थानान्तरण गर्ने प्रयास गर्नु हुँदैन। तपाईंले AI क्रेडिटहरू खरिद गर्नुभयो भने तपाईं तोकिएका निश्चित AI सुविधाहरू प्रयोग गर्नका निम्ति अग्रिम भुक्तानी गर्दै हुनुहुन्छ भन्ने अर्थ लाग्छ। AI क्रेडिटहरू भनेका डिजिटल मुद्रा, धितोपत्र, वस्तु वा अन्य कुनै पनि प्रकारका वित्तीय उपकरण होइनन् र यिनलाई नगद सरह प्रयोग गर्नका निम्ति रिडिम गर्न मिल्दैन। AI क्रेडिटहरू Google इकोसिस्टमभित्रका निश्चित AI सुविधाहरू प्रयोग गर्नका निम्ति मात्र रिडिम गर्न मिल्छ। तपाईंको Google One योजनाको म्याद सकिएपछि वा योजना रद्द गरिएपछि रकम फिर्ता गर्नेसम्बन्धी लागू हुने नीतिहरूबमोजिम प्रयोग हुन बाँकी सबै AI क्रेडिट गुम्न सक्छन्।

यहाँ गई AI क्रेडिटहरूका बारेमा थप जान्नुहोस्।

२. खरिद तथा भुक्तानी

Google One का सदस्यताहरू अनिश्चितकालसम्म उपलब्ध हुने छन्। तपाईंले आफ्नो सदस्यता रद्द गरेको अवस्थामा बाहेक तपाईंको सदस्यताका सर्तहरूबमोजिम तपाईंबाट प्रत्येक बिलिङ अवधि (जस्तै मासिक, वार्षिक वा अन्य अवधि) को सुरुमा शुल्क लिइने छ।

तपाईंले Google One को सदस्यता वा AI क्रेडिटहरू खरिद गर्दा तपाईंको खरिदमा विक्रेताका छुट्टै सर्तहरू लागू हुने छन्। उदाहरणका लागि तपाईंले Google Play स्टोरबाट Google One को सदस्यता लिँदा वा AI क्रेडिटहरू खरिद गर्दा तपाईंको खरिदमा Google Play का सेवाका सर्तहरू लागू हुन्छन्।

तपाईंले Google Play स्टोरबाट खरिद गर्ने Google One को सदस्यता वा AI क्रेडिटहरूको विक्रेता यस प्रकार छ:

  • युरोप, मध्य पूर्व र अफ्रिकामा रहेका उपभोक्ताहरूका हकमा: Google Commerce Limited
  • भारतमा मा रहेका उपभोक्ताहरूका हकमा: Google Ireland Limited
  • एसिया प्रशान्तका अन्य क्षेत्रमा रहेका उपभोक्ताका हकमा: Google Digital Inc.
  • संयुक्त राज्य अमेरिका र विश्वका बाँकी सबै ठाउँमा रहेका उपभोक्ताका हकमा: Google LLC।

तपाईंले कुनै तेस्रो पक्ष वा एफिलियटमार्फत Google One को सदस्यता वा AI क्रेडिटहरू खरिद गर्दा उक्त तेस्रो पक्ष वा एफिलियटले तपाईंको भुक्तानी विधिबाट शुल्क काट्ने छ र तपाईंको सदस्यता रद्द गर्ने वा रकम फिर्ता गर्नेलगायतका तपाईंको भुक्तानीसम्बन्धी कुनै पनि समस्या व्यवस्थापन गर्न पनि सोही तेस्रो पक्ष वा एफिलियट जिम्मेवार हुने छ।

विक्रेताले तपाईंबाट तपाईंको Google One को सदस्यता शुल्क लिन नसकेका खण्डमा तपाईंले उक्त विक्रेतालाई सही भुक्तानी विधि उपलब्ध नगराएसम्म तपाईंले Google One एक्सेस गर्न नपाउने सम्भावना हुन्छ। तपाईंले सूचना प्राप्त भएको मितिबाट उचित समयभित्र सही भुक्तानी विधि उपलब्ध गराउनुभएन भने हामी तपाईंसँग भएको Google One को एक्सेस रद्द वा निलम्बन गर्न सक्छौँ।

३. शुल्क तथा अफरहरू

अफरहरू। हामी समय समयमा निःशुल्क रूपमा Google One को सदस्यताका ट्रायलहरू उपलब्ध गराउन सक्छौँ। तपाईंले Google One को ट्रायलसहितको सदस्यता खरिद गर्नुभयो भने तपाईं ट्रायल अवधि नसकुन्जेल Google One को एक्सेस पाउनु हुने छ। तपाईंले विक्रेतालाई वैध भुक्तानी विधि उपलब्ध गराउनुभएको छ भने ट्रायल अवधि सकिएपछि प्रचलित कानुनले अनुमति दिएको हदसम्म तपाईंबाट प्रत्येक बिलिङ अवधिको सुरुमा स्वतः सदस्यता शुल्क लिइने छ र तपाईंले आफ्नो सदस्यता रद्द नगरेसम्म तपाईंबाट सदस्यता शुल्क लिइराखिने छ। तपाईं शुल्क तिर्न चाहनुहुन्न भने तपाईंले ट्रायल अवधि सकिनुअघि नै अनिवार्य रूपमा आफ्नो सदस्यता रद्द गर्नु पर्ने हुन्छ। हामी समय समयमा Google One को सदस्यता शुल्कमा छुटहरू पनि दिन सक्छौँ। यी अफरहरूमा योग्यताको मापदण्डलगायतका अतिरिक्त सर्तहरू लागू हुन सक्छन् र त्यस्ता अतिरिक्त सर्तहरू लागू हुने भएमा तपाईंले अफर प्रयोग गर्नु वा सदस्यता खरिद गर्नुअघि नै तपाईंलाई ती सर्तहरू उपलब्ध गराइने छन्। प्रचलित कानुनअनुसार यी अफरहरूमा रोक वा प्रतिबन्ध लगाइएका ठाउँमा यी अफरहरू उपलब्ध हुँदैनन्।

शुल्कमा गरिने परिवर्तनहरू। हामी मुद्रास्फीति, लागू हुने करको दरमा भएका परिवर्तन, प्रवर्धनात्मक अफरमा भएका परिवर्तन, Google One मा भएका परिवर्तन वा व्यावसायिक आवश्यकताहरूमा भएका परिवर्तनलगायतका विभिन्न कारणले समय समयमा Google One का सदस्यता शुल्क वा AI क्रेडिटहरूको मूल्य परिवर्तन गर्न सक्छौँ। Google One को सदस्यता शुल्कमा गरिने परिवर्तनहरूका हकमा ती परिवर्तनहरू तपाईंको हालको भुक्तानी अवधि सकिएपछि तथा सदस्यता शुल्कमा भएका परिवर्तनहरूका बारेमा सूचना पठाइएको मितिपछिको भुक्तानी गर्नु पर्ने मितिदेखि लागू हुने छन्। हामी तपाईंबाट शुल्क लिनुभन्दा कम्तीमा ३० दिनअघि सदस्यता शुल्क बढाइएको छ भन्ने कुराको सूचना दिने छौँ। तपाईंबाट शुल्क लिनुभन्दा कम्तीमा ३० दिनअघि तपाईंलाई नयाँ सदस्यता शुल्कका बारेमा सूचित नगरिएका खण्डमा सो परिवर्तन तपाईंबाट आगामी भुक्तानीपछिको भुक्तानी लिइने मितिदेखि मात्र लागू हुने छ। तपाईं Google One को नयाँ सदस्यता शुल्क तिर्न चाहनुहुन्न भने तपाईं यी सर्तहरूको "सदस्यता रद्द गर्ने प्रक्रिया" खण्डमा व्याख्या गरिएअनुसार सदस्यता रद्द गर्न सक्नुहुन्छ। तपाईंले हालको बिलिङ अवधि सकिनुअघि नै आफ्नो सदस्यता रद्द गरेका खण्डमा आगामी बिलिङ अवधिदेखि तपाईंबाट उक्त सदस्यताको शुल्क लिइने छैन। तपाईंको सदस्यताको नयाँ शुल्क लागू गर्न तपाईंको सहमति चाहिन्छ तर तपाईंले नयाँ शुल्कप्रति सहमति जनाउनुभएन भने तपाईंको सदस्यता रद्द गरिने छ।

४. सदस्यता रद्द गर्ने र रकम फिर्ता गर्ने प्रक्रिया

सदस्यता रद्द गर्ने र सहमति फिर्ता लिने प्रक्रिया। तपाईंसँग तत्कालै लागू हुने गरी आफ्नो सदस्यता रद्द गर्ने वा मद्दत केन्द्रमा विस्तृत रूपमा व्याख्या गरिएअनुसार सदस्यता रद्द गर्ने वा सहमति फिर्ता लिने अन्य अधिकार भएका अवस्थामा बाहेक तपाईंले आफ्नो सदस्यता रद्द गर्नुभयो भने पनि तपाईं आफ्नो हालको बिलिङ अवधिको बाँकी अवधिभर Google One एक्सेस गर्न पाइराख्नु हुने छ। तपाईंसँग आफ्नो सहमति फिर्ता लिने अधिकार छ र तपाईं सो अधिकार प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले जुन विक्रेताबाट आफ्नो सदस्यता खरिद गर्नुभएको हो सो विक्रेतालाई अनिवार्य रूपमा आफूले सहमति फिर्ता लिन चाहेको कुरा स्पष्ट रूपमा जानकारी गराउनु पर्छ। तपाईंले सहमति फिर्ता लिन पाइने अवधि नसकिँदै सेवाहरू सुचारु गरिदिन अनुरोध गर्नुभयो भने तपाईंले विक्रेतालाई आफूले सम्झौतामा जनाएको सहमति फिर्ता लिन चाहेको कुरा सूचित गरेको मितिसम्म प्रदान गरिएका सेवाहरूबापत समानुपातिक ढङ्गले समायोजन गरिएको रकम भुक्तानी गर्नु पर्ने हुन सक्छ।

तपाईंले सेवा मेटाउने प्रक्रियामार्फत Google One मेटाउने विकल्प रोज्नुभयो भने तपाईं Google One का सेवाहरूको एक्सेस तुरुन्तै गुम्न सक्छ भन्ने कुरामा सहमत हुनुहुन्छ भन्ने अर्थ लाग्छ। तपाईं आफ्नो बिलिङ अवधिको बाँकी अवधिभर Google One का सेवाहरू प्रयोग गरिराख्न चाहनुहुन्छ भने कृपया Google One मेटाउनुको साटो आफ्नो सदस्यता रद्द गर्नुहोस्

रकम फिर्ता गर्ने प्रक्रिया। तपाईंले Google One को सदस्यता वा AI क्रेडिटहरू खरिद गर्नुभयो भने रकम फिर्ता गर्नेसम्बन्धी नीति लागू हुने छ। तपाईंले आफूले जुन विक्रेताबाट सदस्यता वा AI क्रेडिटहरू खरिद गरेको हो सो विक्रेतालाई सम्पर्क गरी रकम फिर्ता माग्नु पर्ने हुन्छ। तपाईंसँग प्रचलित कानुनअन्तर्गत कुनै पनि सम्झौताले सीमित पार्न नसक्ने उपभोक्ता अधिकारहरू हुन सक्छन्। यी सर्तहरूले तपाईंका ती अधिकारहरू सीमित पार्दैनन्।

५. ग्राहक सेवा

Google One मा Google का निश्चित सेवाहरूबाट ग्राहक सेवा प्राप्त गर्ने सुविधा समावेश गरिएको हुन सक्छ। ग्राहक सेवाले तपाईंको समस्या समाधान गर्न नसकेका खण्डमा हामी तपाईंलाई Google को सम्बन्धित सेवाको ग्राहक सेवामा ट्रान्स्फर वा रिडिरेक्ट गर्न सक्छौँ। तपाईंको Google One को सदस्यता रद्द वा निलम्बन गरिएका खण्डमा तपाईंले ग्राहक सेवा विभागमा पेस गरेका समाधान भइनसकेका समस्या पनि निलम्बन गरिन सक्छन् र तपाईंले आफ्नो सदस्यता सुचारु गरेपछि फेरि नयाँ क्वेरी पेस गर्नु पर्ने हुन सक्छ। ग्राहक सेवाका बारेमा थप जानकारी प्राप्त गर्न कृपया हाम्रो मद्दत केन्द्रमा जानुहोस्।

६. परिवारका सदस्यसँग सेयर गर्ने सुविधा

तपाईं आफ्नो Google One को सदस्यताअन्तर्गत आफ्नो परिवारका सदस्यहरूसँग उक्त सदस्यताका निश्चित लाभहरू सेयर गर्न सक्नुहुन्छ (यसलाई “परिवारका सदस्यसँग सेयर गर्ने सुविधा” भनिन्छ)। तपाईं आफ्नो परिवारका सदस्यहरूसँग कुनै पनि लाभ सेयर गर्न चाहनुहुन्न भने तपाईंले Google One का हकमा परिवारका सदस्यसँग सेयर गर्ने सुविधा अनिवार्य रूपमा अफ गर्नु पर्ने वा आफ्नो पारिवारिक समूह छोड्नु पर्ने हुन्छ। Google One का योजना प्रबन्धक मात्र Google One को सदस्यतामा परिवारका सदस्यहरू समावेश गर्न वा परिवारका सदस्यसँग सेयर गर्ने सुविधा अन वा अफ गर्न सक्छन्। परिवारका सदस्यसँग सेयर गर्ने सुविधाका बारेमा थप जानकारी प्राप्त गर्न कृपया हाम्रो मद्दत केन्द्रमा जानुहोस्।

तपाईं Google One मा कुनै पारिवारिक समूहमा सामेल हुनुहुन्छ भने तपाईंको पारिवारिक समूहका सदस्यहरू तपाईंको निश्चित जानकारी हेर्न सक्छन्। उदाहरणका लागि, तपाईं परिवारका सदस्यसँग Google One का लाभहरू सेयर गर्ने सुविधा अन गरिएको कुनै पारिवारिक समूहमा सामेल हुनुभयो भने उक्त समूहका अन्य सदस्यहरू (र उक्त समूहमा सामेल हुन निम्तो गरिएका मान्छेहरू) तपाईंको नाम, फोटो, इमेल ठेगाना, तपाईंले ब्याकअप गर्नुभएका डिभाइस, प्रयोग गरिएका AI क्रेडिट र तपाईंले प्रयोग गरिरहनुभएको भण्डारणसम्बन्धी जानकारी हेर्न सक्छन्। पारिवारिक समूहका सदस्यहरू परिवारका कुनै सदस्यले Google One को सदस्यतामा समावेश गरिएका निश्चित अतिरिक्त लाभहरू प्रयोग गरेका छन् कि छैनन् भन्ने जानकारी पनि हेर्न सक्छन्।

तपाईं आफ्नो पारिवारिक समूहमा Google One को योजना प्रबन्धक हुनुहुन्छ र तपाईंले परिवारका सदस्यसँग सेयर गर्ने सुविधा अफ गर्नुभयो वा आफ्नो पारिवारिक समूह छाड्नुभयो भने तपाईंको पारिवारिक समूहका अन्य सदस्यहरू Google One को सदस्यताको एक्सेस गुमाउने छन्। तपाईंलाई तपाईंको Google One का योजना प्रबन्धकले परिवारका सदस्यसँग सेयर गर्ने सुविधामार्फत Google One प्रयोग गर्ने अनुमति दिएका छन् भने तपाईंले उक्त पारिवारिक समूह छाडेका खण्डमा वा तपाईंको Google One का योजना प्रबन्धकले परिवारका सदस्यसँग सेयर गर्ने सुविधा अफ गरेका वा उक्त पारिवारिक समूह नै छाडेका खण्डमा तपाईं Google One को एक्सेस गुमाउनु हुने छ।

७. मोबाइलमा भएको डेटा ब्याकअप तथा रिस्टोर गर्ने सुविधा

Google One ले योग्य मोबाइल डिभाइसहरूमा भएको डेटा ब्याकअप तथा रिस्टोर गर्ने परिष्कृत सुविधा (“ब्याकअप तथा रिस्टोर गर्ने सुविधा”) उपलब्ध गराउन सक्छ। ब्याकअप तथा रिस्टोर गर्ने सुविधा प्रयोग गर्न Google Photos लगायतका अतिरिक्त एपहरू इन्स्टल तथा एक्टिभेट गर्नु पर्ने हुन सक्छ। तपाईं जुनसुकै बेला Google One एपमा गई ब्याकअप तथा रिस्टोर गर्ने सुविधासम्बन्धी विकल्पहरू बदल्न सक्नुहुन्छ। तपाईंको Google One को सदस्यता निलम्बन वा रद्द गरिएका खण्डमा तपाईं Android ब्याकअपसम्बन्धी लागू हुने नीतिहरूबमोजिम केही समयपछि ब्याकअप तथा रिस्टोर सुविधामा सेभ गरिएका डेटाको एक्सेस गुमाउन सक्नुहुन्छ।